ब्राजिलमा पनि महिला राष्ट्रपति

अर्थशास्त्रमा डिग्री हासिल गरेकी डिल्मा राउसेफ राजनीतिज्ञ मात्र होइनन्, तेज बुद्धि र व्यवस्थापन कुशलता भएकी अब्बल दर्जाकी अर्थशास्त्री पनि हुन्। त्यसकारण उनलाई 'आयरन लेडी अफ ब्राजिल' पनि भनिन्छ, तर उनलाई यसो भनेको पटक्कै मन पर्दैन। राजनीति र अध्ययन उनको रगतमै मिसिएको छ। अझ भनौं, राजनीति उनले पारिवारिक विरासतका रूपमा पाइन्।

ब्रााजिल शब्द सुन्नासाथ धेरैजसो मानिसको मन-मस्तिष्कमा अनायास फुटबल, पेले वा गारिन्चा, जिको वा रोनाल्डो आदि सर्वकालीन चर्चित फुटबल खेलाडी, अनि विश्वविख्यात आकर्षक साम्बा नृत्य सलबलाउँछ तर यसपटक, अंग्रेजी नयाँ वर्ष सन् २०११ को पहिलो बिहानीसँगै ब्राजिलले अर्को एउटा नयाँ परिचय पनि पाएको छ-शताब्दियौं पुरानो इतिहास र परम्परा बोकेको यो ल्याटिन अमेरिकी देशले पहिलोपटक महिला शासक पाएको छ र, त्रिसट्ठी वषर्ीया डिल्मा राउसेफ बनेकी छिन् विश्वको पाँचौं र ल्याटिन अमेरिकाको सबैभन्दा ठूलो देश ब्राजिलकी प्रथम महिला राष्ट्रपति। उनले यही जनवरी १ तारिखमा आफ्नो पद तथा गोपनीयताको शपथ ग्रहण गरिन्। उनको शपथ ग्रहणको ऐतिहासिक कार्यक्रममा अमेरिकी विदेशमन्त्री श्रीमती हिलारी क्लिन्टनसहित ४५ देशका नेता एवं विशिष्ट पदाधिकारीहरू उपस्थित थिए।

डिल्मा राउसेफलाई राष्ट्रपति पदमा विजयी बनाउने निर्वाचन गत सन् २०१० अक्टुबर-नोभेम्बरमा भएको थियो। उक्त निर्वाचनमा राउसेफलाई ५६ प्रतिशत मत प्राप्त भएको थियो भने उनका निकटतम प्रतिद्वन्द्वी तथा सोसल डेमोक्रेटिक पार्टीका उम्मेदवार होजे सेरालाई ४४ प्रतिशत मत प्राप्त भएको थियो। वर्ष २०१० मा अस्टे्रलियाको शक्तिशाली प्रधानमन्त्री पदमा पहिलोपटक एकजना महिला जुलिया गिलार्ड (जूनमा) निर्वाचित भएको पाँच महिनापछि नोभेम्बरमा अर्को ठूलो देश ब्राजिलमा पनि शक्तिशाली राष्ट्रपति पदमा पहिलोपटक कुनै महिला निर्वाचित भइन्। स्मरणीय छ, अस्टे्रलियामा  प्रधानमन्त्री शक्तिशाली हुने वेस्टमिनिस्टर शासन प्रणाली छ भने ब्राजिलमा अमेरिकामा जस्तै- राष्ट्रपति नै प्रमुख कार्यकारी हुने शासन पद्धति छ।

राजनीतिको विरासत

प्रमुख शासकीय पदमा डिल्मा राउसेफको निर्वाचनसँगै ल्याटिन (अर्थात्, दक्षिण) अमेरिकी मुलुकहरूमा महिला शासक हुने क्रमले निरन्तरता पनि पाएको छ। यो परम्परामा डिल्मा छैठौं कडी भएकी छिन्। यसअघि ल्याटिन अमेरिकी मुलुकहरूमध्ये सर्वप्रथम निकारागुआमा सन् १९९० मा भायोलेता चामोरो, त्यसपछि पनामामा सन् १९९९ मा मिरेभा मोस्कोको, चिलीमा सन् २००६ मा मिचेल ब्याचेलेत, अर्जेन्टिनामा सन् २००७ मा क्रिस्टिना फर्नान्डेज एवं कोस्टारिकामा सन् २०१० मै लाउरा चिन्चिल्ला मुलुकको प्रमुख शासकका रूपमा निर्वाचित एवं कार्यरत भैसकेका छन्।

अर्थशास्त्रमा डिग्री हासिल गरेकी डिल्मा राउसेफ राजनीतिज्ञ मात्र होइनन्, तेज बुद्धि र व्यवस्थापन कुशलता भएकी अब्बल दर्जाकी अर्थशास्त्री पनि हुन्। त्यसकारण कतिपयले उनलाई 'आयरन लेडी अफ ब्राजिल' पनि भन्छन्, तर उनलाई यसो भनेको पटक्कै मन पर्दैन। राजनीति र अध्ययन उनको रगतमै मिसिएको छ। अझ भनौं, राजनीति उनले पारिवारिक विरासतका रूपमा पाइन्। उनका पिता बुल्गेरियाको सरकारी दमनबाट भागेर सन् १९३० मा ब्राजिल आएका थिए, उनी बुल्गेरियाली कम्युनिस्ट पार्टीका सक्रिय सदस्य, कवि एवं व्यापारी थिए। उनले स्थानीय विद्यालयकी शिक्षिकासँग विवाह गरी ब्राजिलमै घरजम गरेका थिए। ब्राजिलको दक्षिणपूर्वी सहर बेलो होरिजोन्तेमा स्थायी बसोबास गरिरहेको त्यही सम्पन्न परिवारमा १४ डिसेम्बर १९४७ मा डिल्माको जन्म भयो। १४ वर्ष पुग्दा-नपुग्दै उनका पिताको मृत्यु भएको थियो।

कुनै बेलाकी छापामार युवती

डिल्मा राउसेफ कुनै बेलाकी छापामार युवती हुन् जो अहिले विश्व-शक्तिका रूपमा परिचित ब्राजिलजस्तो देशको राष्ट्रपति पदमा आसीन छिन्। अर्थशास्त्रको विद्यार्थी रहेकै बेला पढ्न छाडेर उनी १९ वर्षको उमेरमा सहर केन्द्रित माक्र्सवादी 'कोलिना' को छापामार मोर्चा 'पोलिटिकल ओपेरारिया' (पोलोप) मा सम्मिलित भइन्। ब्राजिलमा तिनताक निरकंुश सैनिक शासन (१९६४-१९८५ सम्मको अवधि) थियो। 'पोलोप' समूहले निरंकुश शासनविरूद्ध छापामार युद्ध पनि संचालन गरिरहेको थियो। राउसेफले पनि कठोर गुरिल्ला तालिम लिइन् र त्यसपछि छापामार संघर्षमा सामेल हुनुका साथै अन्य छापामारहरूलाई सैद्धान्तिक ज्ञान दिने काम पनि गरिन्। केही समयपछि सन् १९७० मा भूमिगत अवस्थामै डिल्मा सैनिक शासनद्वारा पक्राउ परिन्। सैनिक शासनले उनको गिरफ्तारीलाई 'ठूलो माछा' समातेको ठान्यो भने सैनिक वकिलले उनलाई ब्राजिलको छापामार आन्दोलनकी 'जोन अफ आर्क' को संज्ञा दिए। उनलाई कठोर यातना दिइएपछि 'टिरादेन्तिज कारागार' पठाइयो।

उनलाई राज्यद्वारा भएको मानव अधिकार हननको पीडित ठहर गरी दुई वर्षपछि रिहा गरियो। अर्को वर्ष सन् १९७३ मा उनी दक्षिणी ब्राजिल बसाइ सरिन्, जहाँ उनले पुराना छापामार सहयोद्धा एवं वकिल कार्लोस अराउजोलाई भेटिन् र दुवैले विवाह गरे। उनीहरूकी एउटी छोरी पाउला छिन् (डिल्मा र कार्लोसबीच भने केही वर्ष पहिले सम्बन्ध विच्छेद भैसकेको छ)। डिल्माले सन् १९७७ मा रियो ग्रान्दे डो सुल फेडेरल युनिभर्सिटीबाट अर्थशास्त्रमा डिग्री पूरा गरिन् र फेरि एकपटक राजनीतिमा प्रवेश गरिन्, तर यसपटक डेमोक्र्याटिक वर्कर्स पार्टी (पीडीटी) मा सामेल भएर। उनले आफ्ना श्रीमान्लाई प्रान्तीय र पछि राज्य विधानसभामा निर्वाचित (सन् १९८२) हुन पनि ठूलो सहयोग गरिन्। सन् '८० र '९० को दशकमा उनी रियो ग्रान्दे डो सुल राज्य तहमा वित्त, ऊर्जा, खानी एवं संचारको क्षेत्रमा उल्लेखनीय काम गर्न सफल भइन्।

राष्ट्रपति बन्ने बाटोमा

सन् २००१ मा उनी वर्कर्स पार्टीमा प्रवेश गरेकी हुन्। त्यसबाटै उनले राष्ट्रपति बन्ने बाटोमा पाइला पनि अगाडि बढाइन् किनभने चाँडै नै ऊर्जा विज्ञहरूको एक सम्मेलनमा उनको भेट वर्कर्स पार्टीका प्रमुख लुइज इनासियो लुला डा सिल्भासित भयो। डिल्माको क्षमता र प्रखरता देखेर लुला निकै प्रभावित भए र सन् २००२ को राष्ट्रपति निर्वाचन अत्यधिक मतले जितेर १ जनवरी २००३ मा राष्ट्रपति पदमा आसीन हुनासाथ लुला डा सिल्भाले डिल्मा राउसेफलाई ऊर्जामन्त्री नियुक्त गरे। स्मरणीय छ, ब्राजिलको ऊर्जा क्षेत्र सर्वाधिक महत्वपूर्ण आर्थिक क्षेत्रहरूमध्ये एक मानिन्छ। संयोगवश, सन् २००५ मा भ्रष्टाचार प्रकरणले ब्राजिलमा राजनीतिक संकट पैदा भयो, जसले गर्दा सरकारका प्रमुख (चिफ अफ स्टाफ) होजे डिर्सेयुले राजीनामा दिए। राष्ट्रपति लुलाले कत्ति विलम्ब नगरी डिल्मा राउसेफलाई आफ्नो 'चिफ अफ स्टाफ' नियुक्त गरे, जुन पदमा डिल्मा ३१ मार्च २०१० सम्म अर्थात् पार्टीले आफूलाई राष्ट्रपति पदको उम्मेदवार घोषित नगर्दासम्म निरन्तर रहिन् र पार्टीको निर्णयअनुसार उक्त पदबाट राजीनामा दिएर राष्ट्रपति निर्वाचनको तयारीमा जुटिन्।

शंका थियो एकथरि मानिसलाई- डिल्मा राउसेफले कट्टर क्याथोलिक इसाई धर्म मान्ने ब्राजिलमा हालसम्मै प्रतिबन्धित रहेको गर्भपतनलाई कानुनी मान्यता दिनुपर्ने र महिला हक-अधिकार सम्बन्धमा नारीवादी अडान उठाउने गरेकाले यी कुरा उनको उम्मेदवारीमा बाधक बन्नेछ, तर त्यस्तो भएन। ब्राजिलमा लगातार दुई कार्यकाल राष्ट्रपति निर्वाचन जितेका समाजवादी लुला डा. सिल्भाले खुलेर आफ्नी उत्तराधिकारीको पक्षमा प्रचार गरे। उनले भने, 'डिल्माभित्र रहेको नेतृत्व क्षमता, कार्य विशिष्टता र परिणाममुखी कार्यशैली अब सम्पूर्ण विश्वले देख्नेछ।'

नभन्दै परिणाम लुलाको वर्कर्स पार्टी र डिल्मा राउसेफको पक्षमा रह्यो। निर्वाचनको सन्दर्भमा ब्राजिल विश्वकै पहिलो मुलुक हो जहाँ इलेक्ट्रोनिक भोटिङ मेसिनमार्फत मतदान गरिन्छ र १८-७० वर्षको उमेर समूहका मानिसले मतदान गर्नु कानुनतः अनिवार्य छ भने १६-१७ वर्ष उमेर समूहका लागि मतदान स्वेच्छिक छ। सही छाप गर्न नजान्नेका लागि अर्थात् निरक्षर मतदाताका लागि 'बायोमेट्रिक  फिङ्गरप्रिन्ट' मेसिन प्रयोग गरिन्छ।

चुनौतीहरूबीच

ब्राजिलमा अझै पनि थुपै्र असमानता छन्, जसमध्ये प्रमुख दुई हुन्-राजनीतिक एवं सार्वजनिक सेवाका माथिल्ला तहमा महिला उपस्थिति अत्यन्त न्यून छ, भने पुरुषको दाँजोमा महिलाको तलबमान असमान छ। लामो विगत बोकेको यो अवस्थालाई आफ्नो छापामार विगतप्रति गर्व गर्ने माक्र्सवादी राष्ट्रपति डिल्माले कसरी परिवर्तन गर्न सक्लिन् ? उनका अग्रज (र, 'मेन्टर' पनि) राष्ट्रपति लुलाले विभिन्न समाजवादी कार्यक्रममार्फत लाखौं गरिब ब्राजिलियन जनतालाई मध्यमवर्गीय जीवनस्तरमा बाँच्न सक्ने तुल्याएका थिए। डिल्माले उनै लुलाका नीतिहरूलाई निरन्तरता दिने दृढता व्यक्त गरेकी छिन्, तर उनीसित लुला डा. सिल्भाको जस्तो 'करिस्मेटिक पर्सनालिटी' देखिन बाँकी नै छ।  सन् २०१४ को विश्वकप फुटबल र सन् २०१६ को ओलम्पिक खेलकुद प्रतियोगिता आयोजनाको तयारीमा जुटिरहेको ब्राजिललाई नजिकबाट नियालिरहेका राजनीतिक विश्लेषकहरूका अनुसार, राष्ट्रपति डिल्मा राउसेफले सबैभन्दा पहिले अन्तर्राष्ट्रिय सम्बन्धमा ध्यान दिएर आपmनो कार्यकाल अघि बढाउनेछिन्। किनभने लुला डा सिल्भाको कार्यकालमा इरानसित गरिने व्यवहारका विषयमा अमेरिकासित मतभिन्नता र गतिरोधहरू देखा परेका थिए।

विश्वले उनलाई हेरिरहेको छ-दुनियाँकै पाँचौं ठूलो अर्थतन्त्र बन्ने दिशामा अग्रसर र भारतसँगै संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को स्थायी सदस्यता पाउनुपर्ने सशक्त देश मानिन थालेको ब्राजिलकी प्रथम महिला राष्ट्रपतिका रूपमा डिल्मा राउसेफले ब्राजिललाई कसरी नेतृत्व प्रदान गरी अघि बढ्ने हुन् ?

Comments

Post a Comment