लोकतन्त्रको लडाइमा आङसान सुकी

मलाई मानव अधिकारमाथि विश्वास छ र मलाई विश्वास छ कानुनको शासनमाथि। म यी दुई कुराको बहालीका लागि लड्दै आएकी छु र आवश्यकता परे सधै लडिरहनेछु। यसका लागि म देश-विदेशका सम्पूर्ण लोकतान्त्रिक शक्तिसित मिलेर काम गर्न चाहन्छु जसका लागि मलाई जनताको पूर्ण सहयोग आवश्यक छ....।’

पैंसठ्ठी वर्षीया आङसान सुकीले म्यानमार (बर्मा) को राजधानी याङ्गुनस्थित आफ्नो निवासअगाडि उपस्थित हजारौं समर्थकलाई सम्बोधन गर्दै भनेकी थिइन्। यसैगरी उनले आफ्नो पार्टी कार्यालयअगाडि उपस्थित जनसमूहलाई पनि सम्बोधन गरेकी थिइन्। पछिल्लोपटक यही नोभेम्बरको दोस्रो साता रिहा हुनुअघि सुकीलाई म्यानमारको सैनिक शासनले अनेक निहुँ थापी पटक-पटक गृह-नजरबन्द गर्दै आएको थियो।

नजरबन्दबाट रिहा भएर मुक्त आकाशमुनि विचरण गर्न पाएकी सुकी अहिले विश्वव्यापी चर्चामा छिन्। पातलो शरीर, चहकिला आँखा र हँसिलो अनुहारकी सुकीमा रहेको लोकतन्त्र र मानव अधिकारप्रतिको दृढ आस्था एवं विश्वासले यो चर्चालाई थप बल प्रदान गरेको छ।

सैनिक शासनले बर्मामा २० वर्ष लामो अन्तरालपछि पहिलोपटक गत नोभेम्बर ७ तारिखमा आमचुनाव गरायो। सुकीको एनएलडीसमेत धेरै राजनीतिक दलले त्यो निर्वाचन बहिष्कार गरे। निष्पक्ष हुनै नसक्ने व्यापक अनुमान गरिएको उक्त निर्वाचनमा सैनिक शासक-जसलाई अचेल सजिलो गरी 'जुन्ता' भनेर बढी चिनिन्छ-को पूर्ण समर्थन प्राप्त दल 'युनियन सोलिडारिटी एण्ड डेवलपमेन्ट पार्टी' ले नै जित्यो। त्यही निर्वाचन परिणामपछि सुकीलाई पनि रिहा गरिएको थियो, जसले गर्दा दस वर्षको अन्तरालपछि मात्र सुकीले आफ्नो छोरालाई प्रत्यक्ष भेट्ने अवसर पाइन् तथापि उनले अहिलेसम्म आफ्ना नाति-नातिनाहरूलाई भने भेट्न पाएकी छैनन्।

वर्षौं लामो गृह-नजरबन्दको पीडा सकियो, बाँकी रह्यो त्यसको तीतो अनुभूति मात्र। बितेका २१ वर्षमा १५ वर्ष त त्यसरी नै नजरबन्दी अर्थात् हाउस एरेस्टको अवस्थामै बित्यो। नजरबन्दको यो लामो अवधिमा के-कति सम्भावित उपलब्धिहरू गुमे, त्यसको लेखाजोखा सुकीले राखेकी छैनन्, सायद राख्ने आवश्यकता पनि रहेन। उनी हषिर्त छिन् र आफूलाई फेरि एकपटक मुक्त आकाशमुनि चहार्ने छूट दिने बर्मेली सैनिक शासकहरूप्रति आभारी रहेको विचार पनि व्यक्त गर्छिन्। यसका साथै उनले आफ्नो चाहना पनि खुलस्त व्यक्त गरेकी छिन्-लोकतन्त्रको पक्षमा काम गर्दै मुलुकमा राष्ट्रिय सहमतिको वातावरण निर्माण गर्ने।

मुक्ति र स्वतन्त्रताको भावना सुकीको रगतमै मिसिएको छ, किनभने उनी तिनताका निकै सानी थिइन् जतिबेला बर्मेली स्वतन्त्रता संग्रामका सर्वमान्य नायक तथा बर्मेली सेनाका एक संस्थापक अनि सुकीका पिता जनरल आङसानलाई निर्ममतापूर्वक मारिएको थियो। जून १९४६ मा सुकीको जन्म भएको दुई वर्षपछि ४ जनवरी १९४८ मा बर्मा अंग्रेज उपनिवेशबाट पूर्ण स्वतन्त्र भएको थियो। त्यही वर्ष १९ जुलाईका दिन तत्कालीन बर्मा सरकारका सबै मन्त्रिमण्डल सदस्य बैठकका लागि प्रधानमन्त्री कार्यालयमा भेला भएका बेला अचानक सैनिकहरूले गोली हानी हत्या गरेका थिए। मारिनेहरूमा एकजना जनरल आङसान पनि थिए।

तत्कालीन प्रधानमन्त्री ऊ घरमा बुद्धको पूजाले गर्दा १० मिनेटजति ढिलो भएकाले बाँचेका थिए। पछि १९६२ मा तिनै ऊबाट जनरल ने विनले सत्ता हात पारी सैनिक शासन सुरू गरेका थिए। बर्मेली स्वतन्त्रता आन्दोलनमा सुकीका पिता जनरल आङसानको योगदान प्रशंसनीय छ। उनलाई आज पनि म्यानमारभरि सम्मानित नायक, राष्ट्रपिता एवं राष्ट्रिय विभूतिका रूपमा सम्मान गरिन्छ। सुकीले आफू वयस्क भएपछि पिताको नामलाई आफूसित जोडेर 'आङसान सुकी' का रूपमा पहिचान कायम गरिन्।

दुई वर्षकै उमेरमा पिताको वात्सल्यबाट वञ्चित सुकीको साढे छ दशक लामो जीवनको धेरैजसो भाग विदेशमा बितेको छ। आमा री वन यी भारतका लागि बर्मेली राजदूत नियुक्त भएपछि उनको प्रारम्भिक शिक्षा नयाँ दिल्लीमा सम्पन्न भएको थियो। उनले त्यहीँ लेडी श्रीराम कलेजबाट क्याम्पस स्तरको परीक्षा उत्तीर्ण गरेर लन्डनको एक विश्वविद्यालयबाट स्नातक उत्तीर्ण गरिन्। बेलायत छँदै २६ वर्षको उमेरमा सुकीले अक्सफोर्ड विश्वविद्यालयमा कार्यरत तिब्बत-विशेषज्ञ बेलायती नागरिक माइकल एरिससित सन् १९७२ मा विवाह गरिन्।

लन्डनको पारिवारिक जीवनमा सुकी र माइकल एरिस दुई छोराका अभिभावक बने। छोराहरूको नाम राखे-अलेक्जान्डर र किम। पछि एकैपटक, करिब तीस वर्ष लामो समयपछि, बिरामी आमाको स्याहार गर्न सुकी सन् १९८८ मा बर्मेली राजधानी रङ्गुन आइपुगिन्। त्यतिबेलै बर्मामा उठेको सैनिक शासनविरोधी लोकतान्त्रिक लहरमा समाहित हुँदै अकस्मात् उनी गृह-नजरबन्दमा परिन्। त्यसअघि, दर्जनौं दल मिलेर उनको सह-स्थापना र उनकै नेतृत्वमा नेसनल लिग फर डेमोक्रेसी (एनएलडी) नामक नयाँ राजनीतिक दलको गठन भएको थियो।

भाषण गर्दै र बर्मेली जनताको मनोदशा बुझ्दै सुकी मुलुकका धेरै ठाउँ घुमिन्। उनी राम्रो वक्ताका रूपमा विकसित भइन्। उनी बोल्दा आगो बर्सन्थ्यो। क्रमशः त्यो अभियान लोकतन्त्र बहाली र सैनिक शासनको अन्त्यको माग राख्दै अघि बढ्ने प्रभावशाली राजनीतिक आन्दोलनका रूपमा विकसित हुँदै गयो तर त्यतिबेलासम्म बर्मामा सैनिक शासनको लामो परम्परा बसिसकेको थियो। एनएलडीद्वारा सञ्चालित आन्दोलनलाई फौजी बुटमुनि कुल्चियो। धेरै राजनीतिक प्रतिपक्षी जेल परे, ठूलो यातना पाए, अनेकौं प्रवासिए, आङसान सुकीलाई २० जुलाई १९८९ देखि अनिश्चितकालका लागि घरमै नजरबन्द गरियो-उनले सैनिक शासकहरूको अनुमतिबेगर कसैसित भेट्न वा घरबाहिर कतै आउन-जान नपाउने भइन्। उनलाई फोन र इन्टरनेटजस्ता सञ्चार सुविधाबाट पनि वञ्चित राखियो।

त्यसैबेला अर्थात् थुनुवा जीवन बिताइरहेको बेला सन् १९८९ मा उनकी अशक्त आमाको मृत्यु भयो, सुकीले यो खबर सैनिक अधिकारीहरूबाटै पाइन्। सुकी पक्राउ पर्नुमा अर्को पनि कारण थियो-उनले आफ्ना भाषणहरूमा तत्कालीन सर्वोच्च सैनिक तानाशाह ने विनको कडा आलोचना गरेकी थिइन्। आफ्नो सैनिक शासनलाई समाजवादी शासनको संज्ञा दिने ने विनको शासनकालमा उनको आलोचना गर्नु भनेको आगोसित खेल्नुसरह थियो। त्यसबीच सुकीहरूले १९ जुलाई १९८९ मा बर्मेली सहिद दिवस भव्य रूपले मनाउने निर्णय गरेका थिए, तर भीषण सैनिक दमन एवं अधिकतम कार्यकर्तामाथि उत्पीडन हुने सम्भावना देखेर त्यो कार्यक्रम स्थगित गरियो। भोलिपल्टै २० जुलाईदेखि उनलाई कठोर गृह-नजरबन्दमा राख्न थालियो।

सुकीका पति माइकल एरिसको क्यान्सर रोगले सन् १९९९ मा बेलायतमै मृत्यु भयो तर गृह-नजरबन्दीमा रहेकी सुकीलाई बर्मेली सैनिक जुन्ताले त्यस्तो मानवीय संवेदनशील समयमा पनि पतिको अन्तिम दर्शन गर्न जान दिएन। त्यसरी नै जसरी सन् १९९१ म्ाा उनले नोबेल शान्ति पुरस्कार प्राप्त गरे पनि पुरस्कार ग्रहण गर्ने समारोहमा उपस्थित हुन नर्वे जाने अनुमति पाएकी थिइनन्। उनका तर्फबाट त्यो पुरस्कार जेठा छोरा अलेक्जान्डरले ग्रहण गरेका थिए।

सुकी आस्थाकी बन्दी थिइन्। उनलाई राजकाज मुद्दामा प्रतिशोधपूर्ण ढंगले थुनिएको थियो। त्यसकारण उनको रिहाइका लागि राष्ट्रिय एवं अन्तर्राष्ट्रिय स्तरबाट पटक-पटक प्रयासहरू भए, बर्मेली सैनिक शासकहरूमाथि दबाब सिर्जना गर्ने प्रयत्न निरन्तर भैरहे। यसै क्रममा राष्ट्रिय एवं अन्तर्राष्ट्रिय दबाबमा परी जुन्ता शासनले २७ मे १९९० मा बर्मामा आमचुनाव गराएको थियो, जसमा सुकीको पार्टी एनएलडीले कुल ४८५ मध्ये ३९२ स्थान ल्याई ८० प्रतिशत स्थानमा विजय हासिल गर्‍यो। यद्यपि निरंकुश सत्ताको स्वाद चाखिरहेको सैनिक सरकारले विशाल बहुमत ल्याएको जनप्रतिनिधि पार्टीको हातमा सत्ता सुम्पेन, बरू निरंकुशतालाई अझ लम्ब्याउँदै गयो।

मानव अधिकार, लोकतन्त्र र शान्तिका लागि उल्लेखनीय योगदान दिएबापत र लोकतन्त्रका निम्ति अहिंसक संघर्ष चलाएवापत सन् १९९१ म्ाा सुकीलाई नोबेल शान्ति पुरस्कारले सम्मानित गरिएको थियो। १८ फेब्रुअरी १९९३ मा रिगोबेर्ता मेन्चुसहित सातजना नोबेल शान्ति पुरस्कार विजेताले बर्मेली सैनिक जुन्तालाई एक पत्र लेखी सुकीको बिनासर्त तत्काल रिहाइको माग गरे। त्यसै वर्ष भारतको राजधानी नयाँ दिल्लीमा भएको अन्तर-व्यवस्थापिका संघको ८९ औं बैठकले उनको रिहाइका लागि एक धर्मयुद्ध (क्रुसेड) नै संचालन गर्ने निर्णय गर्‍यो। २५ देशका १ सय २५ सांसदले उनको रिहाइका लागि बर्मेली सरकारलाई सामूहिक पत्र लेखेका थिए। एमनेस्टी इन्टरनेसनललगायत तमाम मानव अधिकारवादी संघ-संस्थाले उनको रिहाइका लागि निरन्तर आवाज बुलन्द पारिरहे। १९९४ मा सुकीलाई शान्तिका निम्ति नेहरू पुरस्कार प्रदान गरियो। अमेरिकासमेत लगभग सबै देशले बर्मासित सम्बन्धविच्छेद गरे, जसले गर्दा बर्मेली सैनिक शासन शेष विश्वबाट एक्लियो। अन्ततः थुनुवामा राखिरहने थप कुनै कारण देखाउन नसकेपछि जुन्ता लगभग साढे छ वर्ष लामो गृह नजरबन्दीबाट सुकीलाई रिहा गर्न बाध्य भयो। समग्रमा २ हजार १ सय ९० दिन घरमै थुनिएको यो अवधिमा सुकीले आफ्ना पतिलाई मात्र चार-पाँचपटक भेट्न पाइन्।

यसपटक, शनिबार १३ नोभेम्बर सन् २०१० मा, सुकीलाई सात वर्षको गृह-नजरबन्दीबाट रिहा गरिएको छ। जनरल थान स्वेको नेतृत्वमा रहेको सैनिक शासनबाहेक अन्य सबैजना खुसी छन् तर पहिले-पहिले जस्तै यसपटक पनि उनका हजारौं समर्थक एवं शुभचिन्तक उनको व्यक्तिगत सुरक्षाको विषयलाई लिएर उत्तिकै चिन्तित छन्।

सुकीले राजनीति गर्न नहुने अथवा बर्मा नै परित्याग गरी प्रवास जानुपर्ने सैनिक शासकहरूको चाहना छ, किनभने उनी म्यानमारमा सैनिक शासनको प्रतिपक्षको प्रतीकजस्तै बनिसकेकी छिन्। उनको विश्वव्यापी लोकप्रियताबाट सैनिक शासन त्रसित छ भने विश्वले सुकीलाई अत्यन्त जिज्ञासु आँखाले हेरिरहेको छ। सुकीले बर्मामा ढिलो-चाँडो लोकतन्त्र बहाली भैछाड्ने दृढता व्यक्त गरेकी छिन्। त्यसका लागि उनले आफू मात्र होइन, उनीसँगै थुनिएका हजारौं प्रतिपक्षीलाई पनि विनासर्त रिहा गर्नुपर्ने माग गरेकी छिन्। अहिले सबैको चासो यही छ- अब सुकी के-कस्तो योजना लिएर अघि बढ्ने हुन् ? यसपटकको उनको रिहाइ पनि विगतमा जस्तै क्षणिक मात्र हुने त होइन ? अन्य कुनै पनि बहानामा उनलाई फेरि थुनुवामा राखिने त होइन ?

बर्मेली राजनीतिमा होमिनुअघि सुकी प्राज्ञिक जीवन बिताइरहेकी थिइन्। उनले धेरै वर्ष संयुक्त राष्ट्र संघीय बालकोष युनेस्कोका लागि कन्सल्ट्यान्ट भएर काम गरिन्। त्यसक्रममा उनले भारत, भूटान र नेपालको धेरै पटक भ्रमण गरिन्। त्यसबाहेक उनले थुपै्र वर्ष भिजिटिङ प्रोफेसरका रूपमा लन्डन र नयाँ दिल्लीमा बिताएकी थिइन्। अध्ययन र लेखन उनका रूचिका विषय हुन्। नजरबन्द अवस्थामै उनले लेखेको पुस्तक 'फ्रिडम फ्रम फियर' (अर्थात्, भयबाट मुक्ति) निकै चर्चित छ। यतिबेला भने, वर्षौंको गृह-नजरबन्दीबाट छुटकारा पाएर बाहिर आएकी सुकीलाई पछिल्ला ४८ वर्षदेखि अलोकतान्त्रिक सैनिक शासनमुनि थिचिँदै आएको देशको कठोर वास्तविकताबीच लोकतन्त्र बहाली तथा राष्ट्रिय सहमतिको वातावरण निर्माण गर्नुपर्ने चुनौतीहरूले पर्खिरहेका छन्
आङ सान सु की

प्रजातन्त्रका लागि लगातार संघर्ष गर्ने महिलाका रूपमा विश्वभर प्रख्यात आङ सान सु की गत महिना नजरबन्दबाट मुक्त भइन्। म्यानमारको सैनिक सरकारले १५ वर्षदेखि बन्दी बनाइरहेको अवस्थामा उनी शक्तिशाली थिइनन्। रिहाइसँगै उनी विश्वमा प्रजातन्त्रका लागि लड्ने सबैका लागि प्रेरणाकी स्रोत भएकी छिन्। उनलाई सन् १९९१ मा नोबेल शान्ति पुरस्कार प्रदान गरिएको थियो। सन् ९० मा भएको निर्वाचनमा उनको डेमोक्रेटिक पार्टीका ८० प्रतिशत उम्मेदवारले विजय हासिल गरेका थिए। फलस्वरूप उनी म्यानमारकी राष्ट्रपति चुनिइन्। यद्यपि सेनाले उनलाई नजरबन्दमा राख्यो। लामो समय सेनाको आधिपत्य रहेको म्यानमारमा गत वर्ष २०१० को प्रारम्भमा सैनिक सरकारको नियन्त्रणमा भएको निर्वाचनलाई सु कीले अस्वीकार गरेपछि उनलाई नजरबन्दबाट मुक्त गर्न दबाब परेको थियो। लगातार विदेशी दबाबका कारण पनि उनी रिहा भएकी हुन्। सु कीको रिहाइसँगै म्यानमारमा प्रजातन्त्रको उदय हुने विश्वास गरिएको छ।

Comments

Post a Comment