मैले यसरी पढें : म्याक्सिम गोकी
पुस्तकांशमेरा मालिकहरू बसेको घर क्लाज्मा नदीतिरको सडक बनाउने एकजना ठेकेदारको थियो । ऊ पुड्को, मोटो, चुस्स दाह्री र खैरो रंगका आँखा भएको, सधैं रिसाइरहने, अशिष्ट, क्रूर र निष्ठुर प्रकृतिको मानिस थियो । उसका तीसजना जति कामदार थिए, ती सबै भ्लादिमिर गुबेर्निआबाट आएका किसान थिए । तिनीहरू भुइँमा सिमेन्ट लगाएको र स-साना झ्यालहरू भएको जमिनमुनिको अँध्यारो छिँडीमा बस्थे । कामले थकित भएका उनीहरू साँझपख नमीठो गन्ध भएको भित्र्याँस वा सोडाले दुर्गन्धित नुनिलो मासु मिसाएको बन्दागोबीको झोल खाइसकेपछि आफ्नो कोठाबाट बाहिर देखा पर्थे र फोहोर आँगनमा हातखुट्टा पसारेर पल्टिरहन्थे, किनभने उनीहरूको चिसो कोठाको हावा त्यहाँ बाल्ने गरिएको ठूलो चूलाको धूवाँले गर्दा विषाक्त र निस्सासिँदो थियो । ठेकेदार आफ्नो कोठाको झ्यालमा यसो देखापर्थ्यो र आफ्ना कामदारलाई हप्काउन थाल्थ्यो, 'राँडीका छोराहरू ! फेरि निस्कियौ तिमीहरू आँगनमा ? हेर न सुँगुरजस्तै जथाभावी पल्टिएका ! मेरा घरमा सम्मानित मानिस बसेका छन्, तिमीहरूजस्तालाई यहाँ बाहिर देखेर तिनले आनन्द लिन्छन् भन्ने ठानेका छौ तिमीहरूले ?'कामदारहरू कुनै वचन नलगाई आज्ञापालन गर्दै आफ्नो कोठामा र्फकन्थे । ती मानिसहरू सबै नै दुःखी र शोकाकुल थिए, तिनीहरू कहिलेकाहीँ मात्र बोल्थे, हाँस्थे र विरलै गीत गाउँथे । तिनका लुगा धूलो र हिलोले लत्पतिएका हुन्थे र ती मलाई आफ्ना इच्छाविरुद्ध जीवनको अर्काे अवधिका निम्ति यातना भोग्न फेरि ब्युँझाइएका लासजस्ता लाग्थे । ठेकेदारले भनेका ती 'सम्मानित मानिसहरूचाहिँ सैनिक अफिसर थिए । ती रक्सी धोक्थे, जुवातास खेल्थे, आफ्ना नोकरचाकरलाई नीलडाम बस्ने गरी पिट्थे र आफ्ना श्रीमतीमाथि पनि हातपात गर्थे । तिनका श्रीमतीहरू पनि भड्किला लुगा लगाउँथे, रक्सी बेस्सरी धोक्थे र अफिसरका नोकरचाकरलाई निर्ममतापूर्वक कुट्थे । यी नोकरहरू पनि असाधारण रूपले रक्सी खान्थे र आफूलाई अन्धो मद्यपानमा उडाउँथे । आइतबारका दिन ठेकेदार एउटा हातमा हिसाबको लामो बहीखाता र अर्का हातमा पेन्सिलको सानो ठुटो समातेर दलानको सिँढीमा बस्थ्यो । कामदारहरू, मगन्ते हुन् कि जस्तो गरेर एक-एक गर्दै उसका अघि खुट्टा घिसार्दै आइपुग्थे । उनीहरू झिनो स्वरमा झुकेर र टाउको कन्याउँदै बोल्थे भने ठेकेदारचाहिँ संसार नै थर्काउने गरी चिच्याउँथ्यो- 'बेसी नकरा ! एक रुबल भए जत्ति पुग्छ, के रे ? भनेको सुनिनस् ? तैँले पाउनुपर्ने भन्दा बढी पाइसकिस् ? यहाँबाट निस्किहाल् ! चाँडो गर् त ?'म के जान्दथेँ भने कामदारमध्येका केही ठेकेदारकै गाउँका थिए र कतिपय त ठेकेदारका नातेदारसमेत थिए । तर, ऊ सबैलाई उही निष्ठुर, रूखो व्यवहार गथ्र्यो । कामदारहरू पनि एकअर्काप्रति निष्ठुर र रूखा थिए, खास गरेर अफिसरका नोकरचाकरप्रति । हरेक आइतबारको भोलिपल्ट आँगनमा रक्तपातपूर्ण र खुला भिडन्त सुरु हुन्थ्यो र प्रयोग गरिएका अश्लील बोलीले वातावरण नै विषाक्त बन्दथ्यो । ज्यामीहरू कुनै कष्टप्रद कर्तव्य निर्वाह गरेजस्तो गरी विनाविद्वेष झगडा गर्दथे, पटक-पटक कुटाइ खाएर, जीउमा घाउका खाटा बसाएर उनीहरू झगडाबाट फुत्कन्थे र फोहोर लागेका औँलाले हल्लिएका दाँतहरू यसो जाँच्तै एकान्तमा आफ्ना नीलडाम र घाउहरू नियाल्थे । झैझगडा र भिडन्तका कारण छिया-छिया परेको अनुहार वा नीलडाम बसेका आँखाले कुनै किसिमको सहानुभूति पाउँदैनथ्यो । तर, कमिज फाटेर छिया-छिया भएको खण्डमा भने कुरा अर्कै हुन्थ्यो । त्यतिखेर दुःख व्यक्त गर्नु सामान्य कुरो हुन्थ्यो र नोक्सानी भोगेको कमिज धनी उद्विग्नतापूर्वक आफ्नो क्षतिमा झोक्राउँथ्यो र कहिलेकाहीँ त आँसुसमेत झार्दथ्यो । यस्ता दृश्यले ममा वर्णनसम्म गर्न नसकिने गह्रुंगा भावनाहरू उमार्दथे । म यी मानिसप्रति दुःखी थिएँ, तर म उत्साहहीन र पृथक् थिएँ । ममा कहिल्यै यस्तो कुनै मानिसप्रति सहानुभूतिका शब्द प्रकट गर्ने चाहना उत्पन्न भएन वा भिडन्तमा अत्यन्त खराब स्थितिमा पुगेको कसैलाई सहयोग गर्ने चाहना भएन । कम्तीमा पनि उसको धूलो र हिलो मिसिएर बाक्लो भएर घाउ र काटिएको ठाउँबाट बगिरहेको रगत पानीले पखालेर सहयोग गर्ने इच्छा ममा आएन । वास्तवमा, म यी मानिसलाई मन पराउँदिनथेँ, केही हदसम्म उनीहरूसँग डराउँथेँ र म पनि मेरा मालिकहरू वा अफिसरहरू, सेनाका पुरेतहरू, छिमेकको भान्से वा अफिसरका नोकरहरूले जसरी नै उनीहरूलाई ज्यापू भन्दथेँ । यी सबै मानिसहरू ज्यापूका बारेमा घृणा गरेर बोल्छन् । मानिसका लागि दुःखको अनुभूति गर्नु क्लेशकर कार्य हो । कसैले पनि कोहीप्रति माया गरेर सधैं नै आनन्द लिन मन पराउँछ । तर, मैले माया गर्न सक्ने कोही पनि थिएन । यही कारण मैले बढी नै उत्साहका साथ किताबहरूलाई मन पराएँ ।म रहेको वातावरणमा धेरै नै दुष्टतापूर्ण र असभ्य कुराहरू थिए र तिनले तीव्र विरक्तिको भावना जगाउँथे । म तिनका बारेमा यहाँ विस्तारमा केही नभनौँ, तपाईं आफै मानिसले मानिसमाथि थोपरेको अपमानजनक नारकीय जीवन र दासहरू आनन्दित हुने पीडायुक्त रुग्ण प्रेरणाका बारेमा सचेत हुनुहुन्छ । मैले यही निन्दनीय परिस्थितिमा विदेशी लेखकहरूले लेखेका राम्रा र गम्भीर प्रकृतिका किताबहरू पहिलोपटक पढ्न पाएँ । झन्डैजसो हरेक पुस्तकले मेरा सामु एउटा नयाँ र अपरिचित संसारको झ्याल खोलिदिएको र मैले यसअघि कहिल्यै थाहा नपाएका र नदेखेका मानिस, भावना, विचार र सम्बन्धका बारेमा जानकारी दिएको कुराले ममा परेको आश्चर्यको मात्रालाई सायद म पर्याप्त सुस्पष्टता र विश्वसनीयताका साथ अभिव्यक्त गर्न असमर्थ प्रमाणित हुनेछु । यस्ता किताबको पढाइबाट मलाई के पनि बोध भयो भने मेरो वरिपरिको जीवन त्यो सबै, मेरा वरिपरि घट्ने कठोर, भ्रष्ट र क्रूर घटनाहरू ती सबै वास्तविक वा आवश्यक कुरा थिएनन् । वास्तविक र आवश्यक कुराहरू त किताबमा मात्र पाइन्थ्यो, जहाँ हरेक कुरा बढी विवेकपूर्ण, सुन्दर र मानवोचित थियो । के साँचो हो भने किताबहरूले मानवीय अशिष्टता, मूर्खता र वेदनाका बारेमा पनि भन्छन्, तिनले निःकृष्ट र दुष्ट मानिसहरूको चित्रण पनि गर्दछन् । तर, अर्कातिर अरू त्यस खालका मानिसहरूसमेत हुन्छन्, जसलाई मैले कहिल्यै देखेको वा सुनेकोसम्म थिइनँ । ती त्यस्ता मानिस हुन्, जो निर्मल, सत्यनिष्ठ, दरिलो आत्मा भएका हुन्छन् र जो सत्यको विजय र सौन्दर्यको सिद्धिका निम्ति आफ्नो अमूल्य जीवन समर्पित गर्न तम्तयार हुन्छन् । ***
के साँचो हो भने किताबहरूले मानवीय अशिष्टता, मूर्खता र वेदनाका बारेमा पनि भन्छन्, तिनले निकृष्ट र दुष्ट मानिसहरूको चित्रण पनि गर्छन् । तर, अर्कातिर अरू त्यस खालका मानिसहरू समेत हुन्छन्, जसलाई मैले कहिल्यै देखेको वा सुनेको सम्म थिइनँ ।पुस्तकहरूले मेरा सामु उद्घाटित गरेको विश्वको नवीनतम र आत्मिक सम्पदाबाट सम्मोहित भएर सुरुमा मैले पुस्तकहरूलाई अझ राम्रा, बढी नै चाखलाग्दा र मानिसभन्दा पनि निकटका मानेँ । र, मलाई के लाग्छ भने म त्यतिखेर जीवनका यथार्थलाई पुस्तकहरूको काँचबाट हेर्थें र यसरी केही हदसम्म अन्धो बनेको थिएँ । तथापि, शिक्षकमध्येको सबैभन्दा बढी बुद्धिमान् र कठोरतम शिक्षक जीवनले चाँडै नै मलाई त्यो आनन्ददायी अन्धताबाट निको पार्यो । पुस्तकहरूले मानिसमाथि विश्वास राख्न मलाई सिकाइ नै सकेका थिए । सबै कुरामाथि विचार गर्दा वास्तविक जीवनमा जे छ, किताबहरूले त्यसकै चित्रण गर्दछन् अर्थात् पुस्तकहरू वस्तुगत यथार्थका अनुकरण हुन् र यस कारण निष्ठुर ठेकेदार वा मेरो मालिक, रक्स्याहा अफिसरहरू वा मैले चिनेजानेका अरू मानिसभन्दा एकदमै फरक असल मानिसहरूको अस्तित्व जीवनमा हुनैपर्छ भन्ने अनुभव मैले गरेँ । मैले के ख्याल गरेको छु भने जतिखेर जीवनले मलाई कठोरतम प्रहारहरू चखाएको छ, त्यस वेलामा मेरो जीवनमा आएका असंख्य ती कष्टकर दिनमा नै ममा सधैं साहस र धैर्यको भावना उर्लेको थियो र युवकहरूको र हर्कुलसको जस्तो प्रचण्ड आकांक्षा, जीवनका अजंगका फोहोरमैला सफा गर्ने तीव्र उद्वेगले मलाई ओतप्रोत बनाउँथ्यो । यो तीव्र उद्वेग अहिले पचास वर्षको उमेरमा पुग्दासमेत ममा रहिरहेकै छ र म नमरुन्जेलसम्म पनि यथावत् रहिरहनेछ । म यस गुणका लागि पुस्तकहरूको ऋणी छु । पुस्तकहरू मानवजोसका शुभ सन्देशहरू हुन् र तिनले मानवको आत्मामा विकसित भइरहेका असहनीय वेदना र सन्तापलाई प्रतिविम्बित गर्दछन् । मस्तिष्कको कविता विज्ञान र हृदयको कविताकलाप्रति म ऋणी छु ।पुस्तकहरूले निरन्तर मेरा अघि नयाँ-नयाँ मनोरम दृश्यहरू देखाइरहे । दुईवटा सचित्र पत्रिका विश्व सचित्र (भ्सेमिर्नाया इल्ल्युस्ट्रेसिया) र सचित्र रिभ्यु (ज्झिभोपिस्नोये ओबोज्रेनिए) को मेरो जीवनमा विशेष मूल्य रहेको छ । देश-विदेशका सहरहरू, मानिसहरू र घटनाहरूको तिनको वर्णनले संसारलाई मेरा सामु बढीभन्दा बढी विस्तार गरे र यो विश्व विकसित भइरहेको, विशाल, मनमोहक र महान् कार्यहरूले भरिपूर्ण भएको मैले अनुभव गरेँ । म किताब-अध्ययनको तरिकाका सम्बन्धमा थुप्रै कुरा गर्न सक्थेँ । पुस्तक अध्ययन परिचित, दिनैपिच्छे गरिने तर सबै युगका महान् मनहरू र जनतासँगको मानवको घुलन (सम्मिश्रण) को रहस्यमय प्रक्रिया हो । यसले समय-समयमा मानिसका सामु जीवनको अर्थ र जीवनमा मानिसको स्थान के हो अकस्मात् उद्घाटन गर्छ । झन्डै जादुमय सौन्दर्यले रचिएका थुप्रै यस्ता विस्मयकारी उदाहरणहरू म जान्दछु । एउटा यस्तै उदाहरण म यहाँ उल्लेख गर्न चाहन्छु । यो पुलिसको निगरानीमा अर्जामासमा म बसेको समयको कुरो हो । मेरो छिमेकी स्थानीय कृषि बोर्डको हाकिम थियो (रुसी भाषामा जेम्स्की नचाल्निक भनेको क्रान्तिअघि किसान समुदायमाथि शासन गर्ने न्यायालय र प्रशासन दुवैको अधिकार भएको अधिकारीहरूको प्रमुख) । ऊ व्यक्तिगत रूपमा मलाई कतिसम्म मन पराउँदैनथ्यो भने उसले आफ्नो घरमा काम गर्ने नोकर्नीलाई साँझ काम गर्ने समय सकिएपछि मेरो भान्सेसँग कुराकानीसम्म नगर्नू भन्ने निर्देशन दिएको थियो र मेरो निगरानी गर्न एकजना पुलिसलाई मेरो झ्यालैमुनि त्यहीँ रहनेगरी खटाएको थियो । स्वाभाविक एवम् अपरोक्ष रूपमा त्यस पुलिसले आफूलाई उचित लागेको जुनसुकै समयमा पनि मेरो कोठा चियाइरहन्थ्यो । यस कामले बजारका मानिसहरू सन्त्रस्त थिए र धेरै लामो समयसम्म तीमध्ये कसैले पनि मलाई भेटघाट र कुराकानी गर्ने आँट गरेन । एकदिन गिर्जाघर जाने बिदाको दिन- एकजना कानो मान्छे मलाई भेट्न आए । उनको एकातिरको काखीमुनि एउटा पोको थियो र त्यो बेच्नका लागि बोकेको एकजोर जुत्ता हो उनले भने । मैले जुत्ता चाहिँदैन भनेपछि अर्का कोठातिर शंकालु भएर हेर्दै अति सानो स्वरमा उनले मलाई सम्बोधन गरे । 'जुत्ता त तपाईंलाई भेट्न आउन बनाएको एउटा निहुँ मात्र हो । मैले तपाईंलाई वास्तवमा भन्न चाहेको कुरोचाहिँ के हो भने के तपाईं मलाई एउटा राम्रो किताब पढ्न दिन सक्नुहुन्छ ?'उनको एउटा आँखाको अभिव्यक्ति यति इमानदार र सुबोध थियो कि यसले मेरा सबै शंका निवारण गर्यो । कुन खालको किताब चाहेको हो भन्ने मेरो सवालमा उनले दिएको उत्तरले मलाई विषय ठम्याउन सजिलो बनायो । चारैतिर हेर्दै कातर स्वरमा होसियारीपूर्वक उनले भने : 'लेखक महोदय, म त्यस्तो किताब चाहन्छु, जसले मलाई जीवनको नियमका बारेमा जानकारी देओस् अर्थात् संसारको नियमका बारेमा । मैले तिनबारे अनुमान लगाउन सकिनँ । मैले जान्न चाहेको कुरो के भने व्यक्तिले जिउने तरिका कुन हो र यस्तै कुराहरू । कजानका एकजना गणितका प्राध्यापक मेरो नजिकै बस्छन् र मलाई अलि-अलि गणित सिकाउँछन् । उनी किन मलाई पढाउँछन् भने म उनका जुत्ता मर्मत गरिदिन्छु र उनको बगैँचा पनि स्यहार्छु, म माली पनि हुँ । अँ त, गणितले मैले जान्न चाहेका प्रश्नहरूको उत्तर दिँदैन र प्राध्यापक अति नै कम बोल्छन् ।' मैले 'विश्व र सामाजिक विकास' शीर्षकको ड्राइफसले लेखेको र त्यतिखेर मसँग त्यस विषयमा भएको एउटै मात्र पुस्तक उनलाई दिएँ । आफ्नो बुटको माथिल्लो भागमा होसियारीपूर्वक किताब लुकाउँदै एकआँखे मानिसले भने, 'धन्यवाद ! किताब पढिसकेपछि म तपाईंसँग कुराकानी गर्न आउन सक्छु, हैन त ? तपाईंको बगैँचाका जामुनका झाडीहरू छाँट्ने बहानामा आउँला, तपाईंलाई थाहै छ, पुलिसले तपाईंको निगरानी गर्दै छ र सामान्यतया, तपाईंकहाँ म आउनु उपयुक्त हुँदैन ।'पाँच दिनपछि उनी फेरि आए । त्यतिखेर उनीसँग चित्रा र ठूलो खालको कैँची पनि थियो । उनको फुर्तिलो हाउभाउ देखेर म एकदमै चकित भएँ । उनका आँखामा रमाइलो चहक थियो र उनको आवाज दरो र ठूलो थियो । सबभन्दा पहिले उनले खुला हत्केला सशक्त रूपले मैले दिएको पुस्तकमुनि राखे र हतार-हतारमा भने- 'यस पुस्तकको सार कुरो यस संसारमा कुनै ईश्वर छैन भन्ने होइन त ?'
पुस्तकहरू मानवजोसका शुभ सन्देशहरू हुन् र तिनले मानवको आत्मामा विकसित भइरहेका असहृ्य वेदना र सन्तापलाई प्रतिविम्बित गर्छन् ।म हतारमा निकालिएका 'निष्कर्षहरू' माथि विश्वास गर्दिनँ । त्यसैले मैले उनी त्यस 'निष्कर्ष'मा कसरी पुगेका हुन् भन्ने जान्न उनलाई सावधानीपूर्वक प्रश्नहरू राखेँ । उनले उत्सुकतापूर्वक तर शान्त रूपमा भने, 'मेरा लागि त यही नै मुख्य कुरो हो ।' धेरै मानिसले मसँग तर्क गरेजस्तै मैले तर्क गरेँ : यदि सर्वशक्तिमान् ईश्वरको अस्तित्व छ र सबै कुरो उसको इच्छाअनुसार हुन्छ भने त मैले उनकै आदेशबमोजिम नम्रतासाथ उनीमाथि आफूलाई समर्पण गर्नुपर्छ । मैले धेरै देवताका बारेमा लेखिएका किताबहरू पढेको छु- बाइबल र त्यस्ता थुप्रै धार्मिक कृतिहरू । तर, म र मेरो जीवनप्रति म आफैँ जिम्मेवार छु कि छैन यो कुरो जान्न चाहन्छु । धर्मशास्त्रहरू भन्छन् तिमी आफैं जिम्मेवार छैनौ, तिमीले ईश्वरको इच्छाअनुसार नै बाँच्नुपर्छ, किनभने विज्ञानले कहीँ कतै पुर्याउँदैन । यसको अर्थ खगोलशास्त्र पाखण्ड र नक्कली कुरो मात्र भयो, गणित र अरू सबै विषय पनि यस्तै हुने भयो । वास्तवमा, अन्धभक्तिका पक्षमा कोही पनि हुँदैन, के तपाईं अन्धभक्तिका पक्षमा हुनुहुन्छ ?'मैले उत्तर दिएँ- 'अहँ, म त छैन ।''त्यसो हो भने मैले चाहिँ किन यस कुरालाई मान्ने नि ? तपाईं धर्मविरोधी भएको कारणले तपाईंलाई पुलिसको निगरानीमा यहाँ पठाइएको छ । यसको अर्थ के हो भने तपाईं धार्मिक उपदेशका विरुद्ध उठ्नुभएको छ । मैले जानेअनुसार कारण के हो भने सम्पूर्ण विपक्षी मतहरू पवित्र धर्मग्रन्थका विरुद्ध निर्देशित हुनैपर्छ । आत्मसमर्पणका सम्पूर्ण नियमहरूको स्रोत धर्मशास्त्र नै हो । यसका विपरीत स्वतन्त्रताका नियमहरू सबै विज्ञानबाट निस्कन्छन् अर्थात् मानिसको मस्तिष्कबाट । म यहाँ अरू बढी तर्क गर्छु : यदि ईश्वर छ भने यसबारेमा मेरो भन्नु केही पनि छैन । तर, यदि ईश्वर छैन भने म आफैं हरेक कुराका लागि आफ्नै लागि, अरू सबै मानिसका लागि, उत्तरदायी हुन्छु । म जिम्मेवार हुन चाहन्छु गिर्जाघरका पवित्र धर्मगुरुहरूले देखाएको उदाहरणअनुसार, तर फरक तरिकाले जीवनका खराब पक्षहरूप्रति समर्पण गरेर होइन, तिनकै विरोधमा उभिएर । उनले आफ्नो हत्केला फेरि किताबमुनि राखे र झुक्तै नझुक्ने विश्वाससहित भने- 'सबै समर्पण वा सहिष्णुता खराब हो, किनभने यसले खराबीलाई बलियो बनाउँछ । मलाई क्षमा गर्नुहुनेछ, तर यो त्यस्तो किताब हो, जसमाथि म विश्वास गर्छु । मेरा निम्ति यो अनकन्टार जंगलमा बाटो देखाउनेसरह छ । मैले निश्चित गरिसकेको छु- हरेक कुराका लागि म आफैं व्यक्तिगत रूपले जिम्मेवार छु ।'राति अबेरसम्म हाम्रो मित्रतापूर्ण कुराकानी भई नै रह्यो । एउटा साधारण र सानो पुस्तकले सन्तुलनलाई उल्ट्याइदिएको मैले पाएँ, यसले ती काना मानिसको विद्रोहपूर्ण खोजीलाई तीव्र विश्वासमा, सौन्दर्य एवम् विश्वविवेकको शक्तिको उल्लासपूर्ण उपासनामा परिवर्तन गरिदियो । वास्तवमा, यी सुन्दर, बुद्धिमान् मानिसले जीवनका खराबीका विरुद्ध संघर्ष गरे र सन् १९०७ मा साहसपूर्वक आफ्नो ज्यान गुमाए । ***रूखो रैबाकोभलाई जस्तो गरेका थिए किताबहरूले, ठीक त्यस्तै मेरो कानैमा आएर अर्के जीवनको अस्तित्वका बारेमा साउती मारेका थिए । त्यो अर्का संसार अहिले म बाँचिरहेको संसारभन्दा मानिसका लागि बढी मूल्यवान् थियो । किताबले कानो जुत्तानिर्मातालाई जे गरेका थिए, ठीक त्यस्तै मलाई जीवनमा मेरो स्थान कहाँनिर छ भन्ने देखाए । मन र हृदय दुवैलाई उत्प्रेरित गरेर किताबहरूले अज्ञानता र असभ्यताको दलदलमा फँसाउने घिनलाग्दो भासबाट मुक्त हुन मलाई मद्दत गरे । मेरो संसारका सीमाहरूलाई फैलाएर पुस्तकहरूले उन्नत जीवन प्राप्त गर्न मानिसले गरेका प्रयत्नहरूको महत्ता र सौन्दर्यका बारेमा, संसारमा मानिसले कति बढी उपलब्धिहरू गरिसक्यो र त्यो प्राप्त गर्न उसले कति डरलाग्दा कष्टहरू भोग्नुपर्यो र कति ठूलो मूल्य तिर्नुपर्यो भन्ने बारेमा जानकारी गराए । मेरो आत्मामा मानिसप्रति, जो कोही नै किन नहोस्, हरेक मानिसप्रति सम्मानको भावना उर्लियो । मेरो भित्री हृदयमा मानिसको श्रमप्रति आदर र उसको अशान्त आत्माप्रति एक्कासि माया उमि्रयो । जीवन अझ सहज तथा बढी नै आनन्ददायी र नयाँ एवम् गहन अर्थले भरिपूर्ण भयो । एकआँखे जुत्तानिर्मातालाई जस्तै किताबहरूले ममा जीवनका हरेक खराबीका लागि व्यक्तिगत जिम्मेवारीबोधको भावना उत्पन्न गरे र मानवमनको सिर्जनशीलताका लागि आदरभाव जगाए । सत्यमाथिको गहन विश्वासको मेरो दृढ धारणासहित म सबैलाई भन्दछु- पुस्तकहरूलाई माया गर्नुहोस्, तिनले तपाईंको जीवनलाई अरू सहज बनाउनेछन्, तिनले विचार, आवेग र घटनाहरूको रंगीचंगी र प्रचण्ड अन्योलमा बाटो पहिल्याउन मित्रतापूर्ण सेवा प्रदान गर्नेछन्, आफू र अरू मानिसलाई सम्मान गर्न सिकाउने छन् र संसार र मानिसप्रति मन र हृदयभरि माया भरिदिनेछन् ।इमानदारीका साथ लेखिएको, मानिसहरूलाई माया गर्ने, असल आशय भएको कुनै पनि पुस्तक तपाईंको विश्वासकै प्रतिकूल छ भने पनि प्रशंसालायक हुन्छ । कुनै पनि किसिमको ज्ञान उपयोगी हुन्छ, मनका भ्रमहरू र भ्रमपूर्ण आवेग-संवेगहरूको ज्ञानसमेत उपयोगी नै हुन्छ । पुस्तकलाई माया गर्नुहोस् । पुस्तकहरू ज्ञानका स्रोत हुन्, ज्ञान लाभदायी मात्र हुन्छ र ज्ञानले मात्र तपाईंलाई आत्मिक रूपले शक्तिशाली बनाउन, इमानदार र बुद्धिमान् बनाउन, मानिसलाई सही रूपमा माया गर्ने सक्षम व्यक्ति बनाउन सक्छ । ज्ञानले नै मानवको श्रमप्रति आदरभाव जगाउँछ र अति राम्रा उपलब्धिका लागि मानिसका अनवरत र उच्च प्रयत्नहरूलाई हार्दिक रूपले प्रशंसा गर्न सिकाउँछ ।मानिसले कार्य गरेको हरेक कुरामा, अस्तित्वमा भएको कुनै पनि एक्लो वस्तुमा मानिसको आत्माको केही न केही अंश सामेल भएकै हुन्छ । यो निर्मल र उत्कृष्ट आत्मा अरू कुरामा भन्दा विज्ञान र कलामा महत्तर मात्रामा समावेश हुन्छ र यसले पुस्तकको माध्यम र कार्यबाट महानतम वाक्पटुता र स्पष्टताका साथ आफूलाई व्यक्त गर्छ ।
Great one it is thanks for share such nice post. Black magic specialist in Noida
ReplyDeleteVery useful post Famous Best Astrologer
ReplyDeleteThanks for such post. Love Vashikaran specialist in Delhi - Black Magic Islam
ReplyDelete